• ८ कार्तिक २०८३ शनिबार/ Saturday 10-24-2026

भाकल पूरा भएको खुसीमा विजयपुर गढीको 'युमा थेबा थान'मा घण्टी चढाइयो

गणतन्त्र खवर, धरान । बिहानको मिर्मिरे उज्यालो थियो । विजयपुर डाँडाको विशाल सालघारीमा चिसो हावा चलिरहेको थियो । धरान उपमहानगरपालिका-१४ स्थित ऐतिहासिक विजयपुर गढीको सवै भन्दा सिरानमा रहेको ‘युमा थेबा थान’मा शनिबार बिहानै एक परिवार पूजा गर्न पुगेको थियो । उनीहरूको हातमा एउटा ठूलो घण्टी र घरमै बनाइएको धूप र पुजाका सामानहरु थिए ।

ती थिइन् धरान-१४ की शर्मिला लिम्बू । उनी श्रीमान् र परिवारका अन्य सदस्यसँगै त्यहाँ पुगेकी थिइन् । उनको अनुहारमा खुसी देखिन्थ्यो । कारण थियो- केही समयअघि आफूले गरेको भाकल पूरा हुनु ।

केही समयअघि उनले आफ्नो एउटा काम सफल होस् भनेर ‘युमा थेबा थान’मा भाकल गरेकी थिइन् । मनोकामना पूरा भएपछि उनी घण्टी चढाउन र पूजा गर्न बिहानै त्यहाँ पुगेकी हुन् ।

‘हामीले एउटा काम पूरा होस् भनेर अस्ति नै आएर भाकल गरेका थियौँ । काम पूरा भयो । त्यही भएर आज घण्टी चढाउन र पूजा गर्न आएका हौँ,’ शर्मिलाले भनिन् ।

उनका लागि घण्टी चढाउनु केवल धार्मिक कर्म थिएन, आफूले गरेको भाकल पूरा भएपछि आस्थाको केन्द्रप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि थियो ।

घरमै बनाएको धूप र पुर्खाको परम्परा

विजयपुर गढीको ‘युमा थेबा थान’मा शर्मिलाले बजारमा पाइने अगरबत्तीको सट्टा घरमै बनाइएको धूप प्रयोग गर्ने गरेको बताइन् । लिम्बू समुदायको परम्पराअनुसार घरमै तयार पारिएको धूप बालेर पूजा गर्ने चलनलाई उनले निरन्तरता दिँदै आएकी छन् ।

‘हामी बजारको धूप होइन, आफैँले घरमा बनाएको धूप बालेर पूजा गर्छौँ,’ उनले भनिन् ।

शर्मिला मूलतः धनकुटाको चौबिस क्षेत्रकी हुन् । विजयपुर गढीस्थित 'युमा थेबा थान'मा पूजा गर्ने परम्पराको सुरुवात कहिलेदेखि भयो भन्ने विस्तृत जानकारी आफूलाई नभएको उनले बताइन् । तर पुर्खाले गर्दै आएको परम्परालाई निरन्तरता दिन आफू पनि यहाँ आउने गरेको उनको भनाइ छ ।

‘यो पूजा कति वर्षअघिदेखि हुँदै आएको हो भन्ने मलाई त्यति थाहा छैन । हामी चौबिसको भएकाले यहाँको विस्तृत इतिहास थाहा छैन । तर हाम्रा पुर्खाले गर्दै आएको परम्परा भएकाले हामी पनि यहाँ आएका हौँ,’ उनले भनिन् ।

‘गाडीको बाटो नआएकै बेस’

विजयपुर गढीको ‘युमा थेबा थान’ पुग्ने बाटो उकालो र कच्ची छ । त्यहाँ खानेपानीको पनि सहज व्यवस्था छैन ।

देवस्थलमा के सुधार गर्नुपर्ला भन्ने प्रश्नमा शर्मिलाले अरूको भर पर्नुभन्दा आफैँले गर्न सक्ने काम आफैँ गर्नु राम्रो हुने बताइन् । ‘सुधार गर्ने, गराउनेभन्दा पनि आफैँ गर्नु फाइदा होला जस्तो लाग्छ,’ उनले भनिन् ।

देवस्थलसम्म गाडी पुग्ने बाटो नबनाउनु नै राम्रो हुने उनको विचार छ । पैदल हिँडेर देवस्थल पुग्दा शरीर स्वस्थ रहने र मनोबल बढ्ने उनी बताउँछिन् ।

‘धार्मिक स्थल भनेको हिँडेरै आउने हो नि । पानी बोकेर उकालो हिँड्दा स्वास्थ्यलाई पनि राम्रो हुन्छ, मनोबल पनि बढ्छ,’ शर्मिलाले भनिन् ।

देवस्थलमा सरसफाइ कायम राख्न पनि सबै जना आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ । ‘सरसफाइका विषयमा हामी आफैँ सचेत हुनुपर्छ,’ उनले भनिन् ।

मन सफा भए सबैले पूजा गर्न पाउँछन्’

विजयपुर गढीको ‘युमा थेबा थान’ लिम्बू समुदायको आस्थासँग जोडिएको धार्मिक स्थल हो । तर यहाँ आफ्नो समुदायका मानिसले मात्रै पूजा गर्न पाउनुपर्छ भन्ने सोच शर्मिलाको छैन ।

मनमा श्रद्धा हुने सबैले यहाँ आएर पूजा गर्न पाउनुपर्ने उनी बताउँछिन् । ‘यो हाम्रो समुदायको मात्र धार्मिक स्थल होइन । जसको मन सफा छ र जसले पूजा गर्न चाहनुहुन्छ, उहाँहरू जोसुकैले पनि यहाँ आएर पूजा गर्न पाउनुहुन्छ,’ उनले भनिन् ।

शर्मिलाको यो भनाइले धार्मिक स्थलमा सबैले श्रद्धापूर्वक पूजा गर्न पाउनुपर्ने सन्देश दिन्छ ।

भाकल पूरा भएपछि घण्टी चढाउन विजयपुर गढी पुगेकी शर्मिला लिम्बूको अनुभवले एकातिर पुर्खाले चलाउँदै आएको परम्पराप्रति विश्वास देखाउँछ भने अर्कोतिर हाम्रो समाजका यस्ता प्राकृतिक देवस्थलहरू केवल सिमेन्टका भवन र भव्य बाटोघाटोले मात्र चम्किने होइनन्, ती त भक्तजनको निश्चल आस्था, पसिनाको निष्ठा, पुर्खाप्रतिको आदर र सफा मनको प्रार्थनाले जीवन्त बन्छन् भन्ने देखाउँछ । 

 

 

प्रतिकृया दिनुहोस

नेपाली सेनाको सलामी र तोपको गडगडाहटबीच दन्तकालीमा फूलपाती भित्र्याइयो

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । नेपाली सेनाको सलामी, तोपको गडगडाहट, नौमतीबाजा, बेण्डबाजा र भजनकीर्तनको गुञ्जनबीच धरान-१४ विजयपुरस्थित प्रसिद्ध शक्तिपीठ

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३:३०

वीपी प्रतिष्ठान धरानमा ल्याब रिपोर्ट निकाल्न अब लाइन बस्नु नपर्ने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिरामीलाई सहज सेवा दिन स्वचालित ल्याब रिपोर्ट प्रिन्ट गर्ने मेसिन सञ्चालनमा

↑