• ३ मङ्सिर २०८३ बुधबार/ Wednesday 11-18-2026

राष्ट्रिय कर दिवसमा धरानमा प्रभातफेरी, सप्ताहमा करसम्बन्धी जानकारी दिईने

गणतन्त्र खवर, धरान । राष्ट्रिय कर दिवस-२०८३ को अवसरमा धरानमा कर सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय धरानको आयोजनामा, सुनसरी उद्योग वाणिज्य संघको संयोजनमा मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहको पहिलो दिन सोमबार बिहान प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

कर सप्ताहभर करसम्बन्धी जानकारी दिने, करदाताका समस्या र जिज्ञासा सम्बोधन गर्ने तथा कर प्रशासन र व्यवसायीबीचको सम्बन्ध थप सहज बनाउने कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

कर सचेतनामूलक प्लेकार्ड र ब्यानरसहित निकालिएको प्रभातफेरीले धरान बजारका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । प्रभातफेरीमा सुनसरी उद्योग वाणिज्य संघ, धरान वितरक संघ, उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । बजार परिक्रमा गरेपछि प्रभातफेरी संघको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख मौसम ढुंगेलले करदाताका लागि सरकारले ब्याज, जरिवाना र शुल्कमा छुटको व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार प्यान नलिएका, आय विवरण नबुझाएका, कर नतिरेका, भ्याट दाखिला नगरेका तथा नन-फाइलर रहेका करदाताले समेत तोकिएको व्यवस्थाअनुसार छुट पाउन सक्नेछन् ।

तर, मिसम्याच र भ्याटको निर्धारित थ्रेसहोल्ड सीमा नाघेर पनि दर्ता नभएको अवस्थालाई भने छुटको दायरामा नराखिएको उनले स्पष्ट पारे । कर परीक्षणका क्रममा थप कर दायित्व देखिएमा मूल कर तिर्नुपर्ने भए पनि ब्याज, जरिवाना तथा शुल्कमा छुट पाउने व्यवस्था रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले लेखापरीक्षणका क्रममा हुने सामान्य त्रुटि र गलत विवरण पेस गर्दा व्यवसायीले समस्या भोग्नुपरेको बताए। करसम्बन्धी विषयमा अन्योल भएमा आफैं अनुमान गरेर काम गर्नुभन्दा सम्बन्धित कार्यालयमा पुगेर जानकारी लिन उनले व्यवसायीलाई सुझाव दिए । अडिटरलाई लेखासम्बन्धी कागजात जिम्मा दिए पनि आफ्नो कारोबार र कर विवरणबारे व्यवसायी स्वयं जानकार हुनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी संघका पूर्वअध्यक्ष सरोज श्रेष्ठले व्यवसाय सञ्चालन बन्द गरेपछि सम्बन्धित फर्म र कर दर्ता पनि कानुनी प्रक्रियाअनुसार बन्द गर्नुपर्ने बताए । व्यवसाय बन्द गरे पनि दर्ता कायम राख्दा कर विवरण नबुझाएको समस्या आउने र त्यसले भविष्यमा थप आर्थिक दायित्व सिर्जना गर्न सक्ने उनको भनाइ थियो । पुरानो पुस्ताले सञ्चालन गरेको व्यवसाय विधिवत् बन्द नगर्दा त्यसको असर पछिल्लो पुस्ताले समेत भोग्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

सरकारले आर्थिक ऐनमार्फत करदाताका लागि विभिन्न छुट तथा सहुलियतका व्यवस्था ल्याउने गरे पनि पर्याप्त जानकारी नहुँदा व्यवसायीले जरिवाना तिर्नुपर्ने अवस्था आउने गरेको कार्यक्रममा चर्चा गरिएको थियो । त्यसैले करसम्बन्धी नयाँ व्यवस्था, छुट तथा सुविधाबारे समयमै जानकारी राखेर कर दायित्व पूरा गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

विराटनगरमा जग्गाको कित्ताकाट खुल्यो, एक महिनाभित्र भू-सेवा सञ्चालन हुने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुला भएसँगै विराटनगर महानगरपालिका क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने

छठ र झिझिया संस्कृतिको प्रवर्द्धन गर्न भानुचोकमा दुईदिने सांस्कृतिक साँझ

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । छठ र झिझियाको सांस्कृतिक महत्वलाई व्यापक बनाउने उद्देश्यले धरानको भानुचोकमा दुईदिने ‘छठ तथा झिझिया सांस्कृतिक साँझ’ आयोजना

वीपी प्रतिष्ठानमा क्यान्सरको समयमै पहिचान र उपचारबारे अन्तर्राष्ट्रिय कार्यशाला

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरको प्रारम्भिक पहिचान, जाँच र उपचार सेवाबारे दुईदिने अन्तर्राष्ट्रिय

↑