छठ र झिझिया संस्कृतिको प्रवर्द्धन गर्न भानुचोकमा दुईदिने सांस्कृतिक साँझ
भारतका चर्चित श्रीराम झाँकी ग्रुपको प्रस्तुती, प्रवेश पूर्ण निःशुल्क
गणतन्त्र खवर, धरान । छठ र झिझियाको सांस्कृतिक महत्वलाई व्यापक बनाउने उद्देश्यले धरानको भानुचोकमा दुईदिने ‘छठ तथा झिझिया सांस्कृतिक साँझ’ आयोजना हुने भएको छ । कलवार सेवा समिति धरानको आयोजनामा कार्तिक २५ र २६ गते भानुचोकमा कार्यक्रम हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी बताईएको हो ।
झिझिया मधेशी समुदाय अन्तरगत मैथिली समुदायको मौलिक लोकसंस्कृति तथा लोकनृत्य हो । यसलाई व्यापक रूपमा मधेसी समुदायको सांस्कृतिक सम्पदाका रूपमा पनि उल्लेख गरिदैं आएको छ ।
कार्तिक २५ र २६ गते दुवै दिन बेलुका ४ बजेदेखि राति १० बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन हुने समितिका अध्यक्ष अर्जुन कुमार जैसवालले बताएका छन् । कार्तिक २६ गते बिहान ८ बजेदेखि सोही स्थानमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ ।
समितिका अध्यक्ष अर्जुन कुमार जैसवालले छठ पर्व मधेसी समुदायको महत्वपूर्ण पर्व भए पनि यसको सांस्कृतिक र धार्मिक महत्व सबै समुदायले बुझ्नुपर्ने बताए । धरानजस्तो बहुजातीय र बहुसांस्कृतिक सहरमा यस्ता कार्यक्रमले विभिन्न समुदायबीच आपसी चिनजान, सद्भाव र एकता बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
‘सबै समुदायलाई एकआपसमा सौहार्दपूर्ण जोड्न, एकआपसमा आफ्नो जान-पहिचान, चिनजान बढाउनको लागि यसले ठूलो भूमिका निर्वाह गर्छ भनेर आशा गरिरहेका छौँ’ जैसवालले भने ।
उनले कार्यक्रममा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहने जानकारी दिए । छठ पूजा र झिझिया लोकनृत्यसँगै दुर्गा पूजा तथा दीपावलीसँग सम्बन्धित सांस्कृतिक प्रस्तुतिहरू पनि समेटिने उनले बताए ।
कार्यक्रम संयोजक श्रवण गुप्ताका अनुसार छठ पर्वबारे आम नागरिकलाई जानकारी गराउनु, यसको पूजा विधि, परम्परा र सांस्कृतिक पक्ष चिनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । छठ पर्व कसरी मनाइन्छ, यसको धार्मिक महत्व के छ र यससँग जोडिएका लोकसंस्कृति कस्ता छन् भन्ने विषयलाई सांस्कृतिक प्रस्तुतिमार्फत जनमानससम्म पुर्याउन खोजिएको उनले बताए ।
गुप्ताले यो कार्यक्रम कुनै मेला नभई विशुद्ध सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम भएको स्पष्ट पारे । ‘हामीले छठ विशेष कार्यक्रम साँझ नै एउटा प्रोग्राम गरेर जनमानसमा जानकारी दिनको लागि चाहिँ हामीले गर्न खोजेको हो,’ उनले भने ।
भारतका चर्चित श्रीराम झाँकी ग्रुपको प्रस्तुती, प्रवेश पूर्ण निःशुल्क
कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ । कार्यक्रममा भारतबाट आमन्त्रित श्रीराम झाँकी ग्रुप, जनकपुरबाट आउने कलाकार तथा धरानका स्थानीय कलाकारहरूले प्रस्तुति दिईने समितिका सचिव चन्दन कुमार गुप्ताले जानकारी दिए ।
उनका अुनसार कार्यक्रममा विशेष आकर्षणका रूपमा मैथिली समुदायको परम्परागत झिझिया लोकनृत्य प्रस्तुत गरिनेछ । झिझिया मैथिली महिलाहरूले टाउकोमा दीप प्रज्वलित कलश अर्थात् घैँटो राखेर गीत र नृत्यका माध्यमबाट प्रस्तुत गर्ने मौलिक लोकसंस्कृति हो ।
आयोजकले कार्यक्रमका लागि सुरक्षा व्यवस्थालाई पनि प्राथमिकतामा राखेको जनाएको छ । भानुचोकमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति हुन सक्ने भएकाले वडा कार्यालय, धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय, वडा प्रहरी र ट्राफिक प्रहरीसँग आवश्यक सहयोग तथा समन्वय गरिएको समितिका अध्यक्ष जैसवालले जानकारी दिए ।
अध्यक्ष जैसवालका अनुसार धरानमा करिब १७५ घरधुरीका ८०० देखि एक हजारको हाराहारीमा कलवार समुदायको बसोबास छ । समुदायले आफ्नो कुलदेवताका रूपमा बलभद्र भगवान र श्री सहस्रबाहु अर्जुनलाई मान्दै हरेक वर्ष विभिन्न स्थानमा वार्षिक पूजा गर्ने परम्परा पनि कायम राख्दै आएको छ ।
दुई बर्ष अघि समितिले पब्लिक हाईस्कुलमा यस्तो कार्यक्रम आयोजना गरेको थियो । तर खर्च व्यवस्थापन र कलाकारहरूको समय नमिल्दा गत वर्ष कार्यक्रमलाई निरन्तरता दिन सकेन । तर यसपटक भने भानुचौकमा कार्यक्रमलाई पुनः सुरु गरी आगामी वर्षहरूमा समेत निरन्तरता दिने आयोजकले जनाएको छ ।
छठ तथा झिझिया सांस्कृतिक साँझलाई एउटा समुदायको पर्व र परम्पराको प्रदर्शनमा मात्र सीमित नराखी धरानको साझा सांस्कृतिक पहिचान र सामाजिक सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा अघि बढाउन खोजेको आयोजकको ध्येय रहेको देखिन्छ ।
वीपी प्रतिष्ठानमा क्यान्सरको समयमै पहिचान र उपचारबारे अन्तर्राष्ट्रिय कार्यशाला
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरको प्रारम्भिक पहिचान, जाँच र उपचार सेवाबारे दुईदिने अन्तर्राष्ट्रिय
युएन कलेज अध्ययनरत युमी राईलाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान १६ मा रहेको युएन नवोदय कलेज कक्षा ११ मा अध्ययनरत युमी राईले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्
‘हिबिस्कस क्विजमेनिया’को पाँचौँ संस्करण आगामी पुस ९ र १० गते
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । विद्यार्थीहरूमा सामान्य ज्ञान बृद्धि सँगै भविष्यमा लोक सेवा आयोग परीक्षा उत्तीर्ण गर्न सक्ने क्षमता विकास गर्ने लक्ष्यसहित

प्रतिकृया दिनुहोस