• ७ मङ्सिर २०८३ आइतबार/ Sunday 11-22-2026

वीपी प्रतिष्ठान धरानमा पार्किन्सन रोगबारे सचेतना कार्यक्रम, उपचार र हेरचाहबारे जानकारी

गणतन्त्र खवर, धरान । पार्किन्सन (नशा सुक्ने) रोगको पहिचान, उपचार, पुनर्स्थापना तथा बिरामीको दैनिक हेरचाहबारे जनचेतना फैलाउने उद्देश्यले धरानमा विशेष स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको अडोटोरियम हलमा सञ्चालन भएको कार्यक्रममा पार्किन्सन रोगका लक्षण, उपचार पद्धति, औषधि, फिजियोथेरापी र बिरामीको हेरचाहबारे जानकारी दिइएको हो । 

कार्यक्रममा बिरामी, उनीहरूका परिवार तथा सरोकारवालालाई रोगबारे बुझ्न र उपचारमा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो ।

कार्यक्रम सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसन, विराटनगरको आर्थिक सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्तरिक चिकित्सा विभाग, युनिट-१ ले आयोजना गरेको हो । अन्तर्राष्ट्रिय पार्किन्सन्स एन्ड मुभमेन्ट डिसअर्डर सोसाइटी (MDS) को समेत समर्थन रहेको कार्यक्रमको उद्देश्य नेपालमा पार्किन्सन रोगबारे जनचेतना बढाउनु र उपचार तथा हेरचाह सेवामा पहुँच विस्तार गर्नु रहेको आयोजकले जनाएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पार्किन्सन रोगसम्बन्धी प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डा. भुपेन्द्र शाह, आन्तरिक चिकित्सा विभागका डा. नवीन कुमार शाह, अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयमा अनुसन्धानरत डा. मन कुमार तामाङ, लाइफ केयर फिजियोथेरापीका फिजियोथेरापिस्ट प्रबिर श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रतिनिधि सतिस ठाकुर तथा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले रोग, उपचार र हेरचाहका विषयमा जानकारी दिएका थिए ।

उनीहरूले औषधि उपचार, फिजियोथेरापी, बिरामीको दैनिक हेरचाह, स्वास्थ्य सेवासँग सम्बन्धित प्रशासनिक प्रक्रिया तथा उपलब्ध सामाजिक सुविधाबारे पनि सहभागीलाई जानकारी गराएका थिए ।

के हो पार्किन्सन रोग ?

पार्किन्सन रोग मस्तिष्क तथा स्नायु प्रणालीमा असर गर्ने दीर्घकालीन रोग हो । यसले शरीरको चाल, हिँडडुल, हातखुट्टाको नियन्त्रण, सन्तुलन र मांसपेशीको गतिविधिमा असर पुर्‍याउँछ । यो रोग प्रायः उमेर बढ्दै जाँदा देखिने भए पनि कम उमेरका व्यक्तिमा समेत हुन सक्छ ।

मस्तिष्कमा शरीरको चाल नियन्त्रण गर्न सहयोग गर्ने डोपामिन नामक रसायन उत्पादन गर्ने स्नायु कोषहरू हुन्छन् । पार्किन्सन रोग लाग्दा यी कोषहरू क्रमशः कमजोर हुँदै जाने भएकाले शरीर चलाउन र चाल नियन्त्रण गर्न कठिन हुन्छ । रोग लाग्नुको ठ्याक्कै कारण भने अझै पूर्ण रूपमा पत्ता लागिसकेको छैन । वंशाणुगत र वातावरणीय कारणले जोखिम बढ्न सक्ने चिकित्सकीय बुझाइ छ ।

पार्किन्सन रोग लागेपछि पनि उचित उपचार, नियमित स्वास्थ्य परीक्षण, फिजियोथेरापी, परिवारको साथ र चिकित्सकीय निगरानीमा धेरै बिरामीले दैनिक गतिविधि गर्दै सामान्य जीवन बिताउन सक्ने स्वास्थ्यकर्मीहरूको भनाई रहेको छ । 

प्रतिकृया दिनुहोस

राष्ट्रिय कर दिवसमा धरानमा प्रभातफेरी, सप्ताहमा करसम्बन्धी जानकारी दिईने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । राष्ट्रिय कर दिवस-२०८३ को अवसरमा धरानमा कर सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय धरानको आयोजनामा,

विराटनगरमा जग्गाको कित्ताकाट खुल्यो, एक महिनाभित्र भू-सेवा सञ्चालन हुने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुला भएसँगै विराटनगर महानगरपालिका क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने

छठ र झिझिया संस्कृतिको प्रवर्द्धन गर्न भानुचोकमा दुईदिने सांस्कृतिक साँझ

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । छठ र झिझियाको सांस्कृतिक महत्वलाई व्यापक बनाउने उद्देश्यले धरानको भानुचोकमा दुईदिने ‘छठ तथा झिझिया सांस्कृतिक साँझ’ आयोजना

↑