आसरा सुधार केन्द्रमा नयाँ आयाम थपिँदै, महिला सुधार केन्द्र भवन शिलान्यास
रोहित कुमार बस्नेत (डेविट)
गणतन्त्र खवर, धरान । लागूऔषध दुर्व्यसनमा फसेका महिलाहरूलाई पनि सुरक्षित वातावरणमा उपचार, परामर्श र पुनःस्थापनाको अवसर प्रदान गर्ने उद्देश्यले धरानस्थित आसरा सुधार केन्द्र, पानवारीमा महिला सुधार केन्द्र भवनको शिलान्यास गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख एवं आसरा सुधार केन्द्रका संरक्षक प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले भवनको शिलान्यास गरेका हुन् । नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा सञ्चालित आसरा सुधार केन्द्रमा महिला सेवाग्राहीका लागि छुट्टै आवासीय उपचार सुविधा थप गर्न लागिएको हो ।
महिला दुर्व्यसनीहरूको संख्या र उपचार सुविधाको आवश्यकता बढ्दै गएको अवस्थामा उनीहरूलाई पुरुषसरह उपचार तथा पुनःस्थापनाको अवसर उपलब्ध गराउन भवन निर्माणको योजना अघि सारिएको आसराले जनाएको छ । सरकारी निकाय र समुदायको संयुक्त प्रयासमा कोशी प्रदेशमा महिलाका लागि पनि छुट्टै सुधार केन्द्र निर्माण हुन लागेको यो पहिलो पहल हो ।
आसरामा हाल पुरुष दुर्व्यसनीहरूका लागि १२० जनासम्मलाई आवासीय उपचार सेवा प्रदान गर्ने व्यवस्था रहेको छ । अब महिला सेवाग्राहीका लागि समेत छुट्टै भवन निर्माण भएपछि सुरक्षित, व्यवस्थित र सुविधासम्पन्न वातावरणमा उपचार सेवा उपलब्ध गराउन सकिने शिलान्यासको क्रममा डीआईजी खनालले बताए ।
डीआईजी खनालले भने, ‘पुरुष दुर्व्यसनीहरूलाई मात्र अहिले उपचार गर्ने जुन एउटा हामीकहाँ त्यो व्यवस्था थियो, त्यो फेसिलिटी मात्र थियो भने अबका दिनमा महिला दुर्व्यसनीहरूको संख्या पनि त्यत्तिकै भएको कारणले गर्दाखेरि महिला दुर्व्यसनीहरूले पनि त्यो उपचार सुविधा प्राप्त गर्न सक्नुहोस् भन्ने उद्देश्यले सुरु गरिएको हो ।’
महिला सुधार केन्द्र ५० क्षमताको रहने, ३ करोड बढी लागतको योजना
महिलाहरूका लागि छुट्टै सुधार केन्द्र आवश्यक रहेको महसुस गर्दै जग्गा खरिद गरी भवन निर्माणको योजना अघि बढाइएको आसरा सुधार केन्द्र, पानबारी धरानकी प्रथम उपाध्यक्ष शिला बज्राचार्यले बताइन् । उनका अनुसार प्रस्तावित भवन तीन तले हुनेछ र पूर्ण रूपमा निर्माण सम्पन्न भएपछि ५० जना महिलालाई आवासीय उपचार सेवा दिन सकिनेछ ।
भवन निर्माणका लागि तयार गरिएको प्रस्तावअनुसार कुल लागत ३ करोड ९ लाख २६ हजार ३०० रुपैयाँ अनुमान गरिएको छ । ‘हामीले ३ देखि ३ करोड ७ लाख जस्तोको आइटममा हामीले यो बजेटिङ बनाएका छौँ ।’ प्रथम उपाध्यक्ष बज्राचार्यले भनिन् ।
तीन तले भवनको प्रत्येक तलामा २ हजार १८३ वर्गफिट क्षेत्रफल रहने र सिँढी तथा अन्य संरचनासहित कुल निर्माण क्षेत्र ५ हजार १५० वर्गफिट रहने प्रस्तावमा उल्लेख छ ।
निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन प्रदेश तथा संघीय सरकारसँग पहल भइरहेको बज्राचार्यले बताइन् । ‘हामी यो आगामी बजेटमा पनि हामी पार्दिने उहाँहरूले आश्वासन पनि दिनुभएको छ र संघीयमा पनि हामीले कुरा गर्दैछौँ। र उहाँहरूको बजेटबाट पनि हामी आयो भने हामी त्यहाँबाट गर्छौ ।’ उनले भनिन् ।
सरकारी सहयोग प्राप्त नभए पनि केन्द्रको आन्तरिक स्रोत र देश-विदेशमा रहेका सहयोगी, आजीवन सदस्य तथा शुभेच्छुकहरूको साथबाट निर्माण कार्य सुरु गर्ने योजना रहेको बज्राचार्यले बताइन् ।
महिला सेवाग्राहीका लागि उपचारसँगै गोपनीयता, सुरक्षा र सामाजिक संवेदनशीलता महत्वपूर्ण हुने भएकाले भवनलाई सोहीअनुसार व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।
आसरा स्थापना भएदेखि हालसम्म २ हजार १८७ जना उपचारका लागि भर्ना
आसरा सुधार केन्द्र पानवारी, धरानको स्थापना २०७५ चैत १ गते आसरा सुधार केन्द्र रानीबारी, महाराजगञ्ज काठमाडौंको शाखाका रूपमा भएको थियो । पछि २०८० मंसिर ३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भई स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएको केन्द्र समुदाय-प्रहरी साझेदारीको नमुनाका रूपमा स्थापित छ ।
६ कठ्ठा १८ दशमलव ५ धुर क्षेत्रफलमा रहेको केन्द्रमा सुरुमा १०० जना पुरुष दुर्व्यसनीलाई उपचार गर्ने क्षमता थियो । भौतिक संरचना विस्तार गरी हाल १२० जनासम्मलाई आवासीय उपचार सेवा दिन सकिने व्यवस्था गरिएको छ ।
आसराका अनुसार स्थापना भएदेखि हालसम्म २ हजार १८७ जना उपचारका लागि भर्ना भएका छन् । तीमध्ये २ हजार १०० जनाले उपचार पूरा गरी पुनःस्थापना सेवा प्राप्त गरेका छन् भने हाल ८७ जना उपचाररत छन् ।
महिलाका लागि छुट्टै सुधार केन्द्र निर्माण भएपछि कोशी प्रदेश तथा आसपासका क्षेत्रका दुर्व्यसन प्रभावित महिलालाई परिवार र समाजमा सम्मानपूर्वक फर्किन सहयोग पुग्नुका साथै महिला सशक्तीकरण र सामाजिक पुनःस्थापनामा समेत योगदान पुर्याउने विश्वास आसराले लिएको छ ।
रेश्मा र प्रनिता बने हिबिस्कस डान्सिङ सिङ्गिङ आइडलका विजेता
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१५ स्थित हिबिस्कस ईङ्लिस् वोर्डिङ स्कुलको आयोजनामा हिविस्कस सिंगिङ डान्सिङ आइडल सम्पन्न भएको छ । विद्यार्थीहरूको प्रतिभा,
बाँझगरालाई जीवन्त राख्न पहिलोपटक ‘धरान बाँझगरा रन २०८३’को आयोजना गरिँदै
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान वडा नं. ४, ५, ६ र १५ रहेको बाँझगराको नाम र इतिहासलाई जीवन्त राख्न तथा नयाँ पुस्तासम्म चिनाउने उद्देश्यले पहिलोपटक ‘धरान
वीपी प्रतिष्ठान धरानमा पार्किन्सन रोगबारे सचेतना कार्यक्रम, उपचार र हेरचाहबारे जानकारी
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । पार्किन्सन (नशा सुक्ने) रोगको पहिचान, उपचार, पुनर्स्थापना तथा बिरामीको दैनिक हेरचाहबारे जनचेतना फैलाउने उद्देश्यले धरानमा विशेष

प्रतिकृया दिनुहोस