• २४ श्रावण २०८३ आइतबार/ Sunday 8-09-2026

धरानमा '१८३१ लिम्बुवान-गोरखा सन्धि' स्मरण, किरायाको ३९औँ स्थापना दिवसमा दिप प्रज्वलन

गणतन्त्र खवर, धरान । किरात याक्थुम चुम्लुङको आयोजनामा शुक्रबार धरानको भानुचोकमा ‘लिम्बुवान र गोरखा कान्तिपुरबीच भएको तसल्ली मुलुकी लालमोहर स्मरण कार्यक्रम’ गरिएको छ । वि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोरखा राज्यबीच भएको भनिएको लालमोहर सन्धिको स्मरण गर्दै कार्यक्रम गरिएको हो । 

किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष गोविन्द आङबुहाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सन्धिको ऐतिहासिक महत्व र वर्तमान सन्दर्भबारे चर्चा गर्दै सन्धिअनुसार लिम्बुवानको अधिकारलाई राज्यले मान्यता दिनुपर्ने माग वक्ताहरुले गरेका थिए । 

चुम्लुङका केन्द्रीय अध्यक्ष आङबुहाङले विभिन्न लिम्बु समुदाय तथा संघ-संस्थाका प्रतिनिधिहरूको आग्रहअनुसार चुम्लुङको आयोजनामा कार्यक्रम गरिएको बताए । उनले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै वक्ताहरुलाई सन्धिको ऐतिहासिक पक्षमा केन्द्रित रहेर मन्तव्य दिनु पर्ने आचार संहिता समेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा डा. कमल तिगेलाले वि.सं. १८३१ साउन २२ गते भएको भनिएको 'लिम्बुवान-गोरखा सन्धि'मा उल्लेख भएको व्यहोरा पढेर सुनाएका थिए । उनले सो सन्धिको ऐतिहासिक पृष्ठभूमि, त्यसको मूल मर्म र वर्तमान अवस्थाबारे चर्चा समेत गरेका थिए । 

विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिका संयोजक अमित थेवेले लालमोहर सन्धिसम्बन्धी विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउन इलाका प्रशासन कार्यालयमार्फत पत्र पठाइएको बताए । उनले पृथ्वीनारायण शाहको समयमा लिम्बुहरूको किपट, संस्कृति र स्थानीय प्रशासनलाई मान्यता दिइएको उल्लेख गर्दै त्यसको निरन्तरता र अधिकारका विषयमा राज्यले ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी लिम्बुवान नेता कुमार लिङ्देनले नेपालका पूर्वी ९ जिल्लालाई समेटेर लिम्बुवान प्रदेश बनाउनुपर्ने माग गरे । उनले वि.सं. २०२१ र २०२५ सालमा जारी भएका भूमि ऐनका कारण किपट व्यवस्था अन्त्य भए पनि त्यसले लिम्बुवान र गोरखा राज्यबीच भएको सन्धिको औचित्य समाप्त नहुने दाबी गरे । उनले ऐतिहासिक सन्धिलाई आधार मान्दै पूर्वका ९ जिल्लालाई समेटेर लिम्बुवान प्रदेश गठन गर्नुपर्नेमा जोड दिए ।

लिम्बु समुदायहरुको विभिन्न संघ, संस्था प्रतिनिधिहरुको उल्लेखनिय उपस्थितीमा भएको कार्यक्रममा जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, उज्यालो नेपालका केन्द्रीय सदस्य जेन्टल लावती, चुम्लुङ सुनसरीका पूर्व सचिव तथा जनता समाजवादी पार्टी सुनसरीका नेता ताजुप लिम्बु लगायत विभिन्न संगठनका नेताहरुले आआफ्नो धारणा राखेका थिए । 

लिम्बुवानसँग सम्बन्धित विभिन्न संघ-संस्थाले यसअघि साउन २२ गतेलाई फरक-फरक ढंगले सम्झँदै आएका थिए । केहीले यस दिनलाई ‘कालो दिन’ का रूपमा लिने गरेका थिए भने केहीले सन्धि दिवसका रूपमा स्मरण गर्दै आएका छन् । यसपटक धरानमा भने सन्धि स्मरणका रूपमा सार्वजनिक कार्यक्रम गरिएको थियो । 

किरायाको ३९औँ स्थापना दिवसमा दीप प्रज्वलन

किरात राई यायोक्खा सुनसरीले शुक्रबारै आफ्नो ३९औँस्थापना दिवसको अवसरमा धरानमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

स्थापना दिवसको अवसरमा बिहान किरात राई यायोक्खा धरानको कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । आयोजकका अनुसार कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको थियो ।

साँझ यायोक्खाले भानुचोकमा साकेला नृत्य प्रस्तुतिसहित दीप प्रज्वलन गरेको थियो । किरात राई यायोक्खाका अनुसार स्थापना दिवसको अवसरमा देशभरका विभिन्न जिल्ला समितिले पनि विविध कार्यक्रम आयोजना गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा किरात राई यायोक्खाका पूर्वकेन्द्रीय अध्यक्ष तथा धरानका पूर्व नगर प्रमुख तिलक राईले सबै समुदायबीच सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताए ।

धरानको वर्तमान परिस्थितिलाई संकेत गर्दै उनले आ-आफ्नो हठ त्यागेर सबैसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे । उनले जाति, धर्म र समुदायबीच एकअर्काको सम्मान र सहअस्तित्वलाई स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका

आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा स्थगित

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २२ धरान । आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा आन्तरिक विवादको कारण स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट

मोरङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २०, धरान । मोरङको बेलबारी नगरपालिका-९ गैराखुनीस्थित डाँगाबजारबाट बाउनीतर्फ जाने भित्री बाटोमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना