• २४ श्रावण २०८३ आइतबार/ Sunday 8-09-2026

धरानमा बजेट विवाद चुलिँदै, कार्यवाहक नगर प्रमुख र जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप

गणतन्त्र खबर, श्रावण २३, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर कार्यवाहक नगर प्रमुख र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूबीच विवाद चर्किएको छ । बजेट निर्माणका क्रममा शुक्रबार बिहान बसेको बजेट तर्जुमा समितिको बैठक विवादमा परेपछि शुक्रबारका लागि तय गरिएको नगर सभा स्थगित भएको थियो । 

कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले बजेट निर्माणका क्रममा कार्यपालिका, विषयगत समिति र सरोकारवालाबीच पटक-पटक छलफल तथा सहमति भए पनि वडा नं १५ र १८ का अध्यक्षहरूले सहमति कार्यान्वयन नगरेको, बजेट समयमै प्रस्तुत हुन नदिएको र विभिन्न योजना तथा कार्यक्रमको बजेट कटौती गर्न दबाब दिएको आरोप लगाएका थिए । 

उनले वैठकमा आफूप्रति अमर्यादित तथा अश्लील शब्द प्रयोग गरेको उल्लेख गर्दै घटनाप्रति दुख र खेद प्रकट गरेको विज्ञप्ति जारी गरेपछि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु शनिबार प्रतिवादमा आएका हुन् । नगरपालिका कार्यलयको आगनमा शनिबार अधिकांश वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गरी कार्यवाहक नगर प्रमुखको दाबीप्रति असहमति जनाइएका छन् । 

उनीहरूले बजेट निर्माणकै क्रममा आर्थिक विकास समितिमा विनियोजित बजेटको शीर्षकगत विवरण र आवश्यकताअनुसार बजेट परिचालन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । धरानको विकासलाई सडक र भौतिक पूर्वाधारमा मात्र सीमित नगरी पर्यटन, व्यापार, संस्कृति, स्थानीय व्यवसाय र रोजगारीसँग जोड्नुपर्ने उनीहरूको भनाइ छ ।

पर्यटन प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ अपर्याप्त हुँदा  विवाद सिर्जना

विशेषगरी पर्यटन प्रवर्द्धनका लागि विनियोजित १५ लाख रुपैयाँ पर्याप्त नभएको भन्दै आवश्यकताअनुसार बजेट बढाउनुपर्ने प्रस्ताव राखिएको तर उक्त प्रस्ताव स्वीकार नभएपछि विवाद सिर्जना भएको संसदीय दलका नेता तथा १८ नं.का वडा अध्यक्ष नेरन्द्र कुमार राई (प्रविण)ले दाबी गरे ।

वडा अध्यक्ष नरेन्द्र कुमार राईका अनुसार बैठकमा सहजीकरणका लागि आफू र वडा नं. १५ का अध्यक्ष नरेश कुमार इवारमलाई बोलाइएको थियो । छलफलमार्फत सहमति जुटाउने प्रयास भइरहेका बेला आर्थिक विकास समितिको बजेट ब्रेकडाउनको विषयमा कार्यवाहक नगर प्रमुख आफ्नो अडानबाट पछि नहटेपछि विवाद भएको राईको भनाइ छ ।

राईका अनुसार छलफलका क्रममा कार्यवाहक नगर प्रमुखले आफ्नो प्रस्ताव नमानेको भन्दै टेबल ठोकेर उत्तेजित अभिव्यक्ति दिएका थिए । सोही व्यवहारका कारण बैठकमा विवादको अवस्था सिर्जना भएको उनले दाबी गरेका छन् ।

वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले कार्यवाहक नगर प्रमुखको नेतृत्वमा रहेका विभिन्न बजेट शीर्षकमाथि पनि प्रश्न उठाएका छन् । मेयर कोषमा १ करोड ५० लाख, नगर गौरवमा ११ करोड, नगर भिजनमा ३ करोड, सडक मर्मत कोषमा ४ करोड, विपद् व्यवस्थापनमा २ करोड र आर्थिक विकास समितिमा ५ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै विषयगत समितिमा छलफल नगरी एकल ढंगबाट विनियोजन गरिएको उनीहरुले आरोप लगाएका छन् । 

संसदीय दलका नेता तथा वडा नं. १५ का अध्यक्ष नरेश ईवारामले बजेट समयमै ल्याउन नसक्नु जनप्रतिनिधिहरूको कमजोरी भएको स्वीकार गर्दै नेतृत्वको कार्यशैलीका कारण बजेट प्रक्रिया प्रभावित भएको आरोप पनि लगाएका छन् ।

सहकारी पीडितका लागि ५ करोड विनियोजनमा वडाध्यक्षहरूको विमति

कार्य वहाक प्रमुख बेघाले सहकारी पीडितका लागि उपमहानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने अडान राख्दै आएका छन् तर वडा अध्यक्ष ईवारामले कार्यवहकाले नगरवासीमा भ्रम सृजना गरेको र राजनीति गरेको जस्ता आरोप लगाएका छन् ।

वडा अध्यक्ष ईवारामले भने, ‘धरानका सहकारी पीडित नागरिकहरूको समस्या अत्यन्तै संवेदनशील र गम्भीर विषय हो । यस विषयमा हामी कुनै पनि प्रकारको राजनीति गर्न चाहँदैनौँ ।’ उनका अनुसार, सहकारी पीडितको बचत फिर्ता, न्याय र दीर्घकालीन समाधानका लागि कानुनसम्मत, पारदर्शी र संस्थागत पहल आवश्यक रहेको छ ।

जनप्रतिनिधिहरूले व्यक्तिगत टकरावभन्दा संस्थागत छलफल, पारदर्शिता र सहमतिबाट समस्या समाधान गर्नुपर्ने बताएका छन् । उनीहरूले आफ्नो उद्देश्य धरानको विकास, नगरवासीको हित र नगरको आर्थिक समृद्धि रहेको बताएका छन् ।

यता भने कार्यवाहक नगर प्रमुख बेघाले लोकतान्त्रिक व्यवस्थामा असहमति र आलोचना स्वाभाविक भए पनि त्यसलाई संवाद, संयमता, पारस्परिक सम्मान र संस्थागत मर्यादाभित्र रहेर व्यक्त गर्नुपर्ने बताएका छन् । सार्वजनिक संस्थाको गरिमा र जनप्रतिनिधिको जिम्मेवार आचरणले लोकतान्त्रिक संस्थाप्रतिको जनविश्वासलाई बलियो बनाउने उनको भनाइ छ ।

केही महत्वपूर्ण पदाधिकारीको भने अनुपस्थिति 

अधिकांश जनप्रतिनिधि एक ठाउँमा देखिए पनि केही महत्वपूर्ण पदाधिकारीको अनुपस्थिति रहेका छन् । विज्ञप्तिमा उनीहरुको हस्ताक्षर रहेको छैन । 

उक्त विज्ञप्तिमा वडा नं. ४ का कार्यवाहक अध्यक्ष राजन कुमार राई, वडा नं. १७ का कार्यवाहक अध्यक्ष मनिष विष्ट, वडा नं. ६ का अध्यक्ष भूपेन्द्र भट्टराई, वडा नं. १२ का अध्यक्ष टंकबहादुर राई तथा कार्यपालिका सदस्यहरू रविन गुरुङ र देवीमाया विश्वकर्माको हस्ताक्षर छैन । विज्ञप्तिमा देवीमाया विश्वकर्मा उपस्थित नभएको उल्लेख गरिएको छ ।

अधिकांश जनप्रतिनिधिले एउटै विज्ञप्तिमार्फत कार्यवाहक नगर प्रमुख बेघाको दावीलाई प्रतिवाद गरे पनि उल्लेखित जनप्रतिनिधिहरूको अनुपस्थिति वा हस्ताक्षर नहुनुले उनीहरूको धारणा के हो भन्ने प्रश्न उब्जिएको छ । यद्यपि, उनीहरूले यस विषयमा धारणा सार्वजनिक हुन बाँकी छ ।

विवाद समाधान गर्दै सहमति जुटाउन सके मात्र धरानको आगामी बजेट प्रक्रिया सहज रूपमा अघि बढ्ने विश्लेषकहरूको बुझाइ छ ।

 

 

प्रतिकृया दिनुहोस

धरानमा '१८३१ लिम्बुवान-गोरखा सन्धि' स्मरण, किरायाको ३९औँ स्थापना दिवसमा दिप प्रज्वलन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । किरात याक्थुम चुम्लुङको आयोजनामा शुक्रबार धरानको भानुचोकमा ‘लिम्बुवान र गोरखा कान्तिपुरबीच भएको तसल्ली मुलुकी लालमोहर स्मरण

आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा स्थगित

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २२ धरान । आज हुने भनिएको धरान उपमहानगरपालिकाको नगरसभा आन्तरिक विवादको कारण स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट

मोरङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खबर, श्रावण २०, धरान । मोरङको बेलबारी नगरपालिका-९ गैराखुनीस्थित डाँगाबजारबाट बाउनीतर्फ जाने भित्री बाटोमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना