• ५ असोज २०८३ सोमबार/ Monday 9-21-2026

ढुङ्गा राखेर पूजा सुरु गरिएको ठाउँमा आज भव्य विश्वकर्मा मन्दिर

रोहित कुमार बस्नेत (डेविट)

गणतन्त्र खबर, धरान । अहिले धरान-८ तीनकुनेमा रहेको श्री श्री १०८ बाबा विश्वकर्मा मन्दिर धेरैका लागि आस्थाको केन्द्र बनेको छ । जुन मन्दिर जोगबनी-किमाथांका ६ लेन सडक खण्डमै अवस्थित छ । हप्ताको प्रत्येक दिन त्यसमा पनि मंगलबार र शनिबार फलाम, मेसिन, सवारी साधन तथा यातायातसँग जोडिएका भक्तजनहरुको लागि यो मन्दिर विशेष महत्व रहेको छ । प्रत्येक बर्षको असोज १ गते मनाईने विश्वकर्मा पूजाको दिन र त्यसको आसपासको दिनहरुमा भक्तजनहरुको चहलपहलको त झनै कुरै नगरौं ! 

तर यो मन्दिरको सुरुवात आज देखिने संरचनाबाट भएको होइन । करिब पाँच दशकअघिको कुरा हो । तीनकुने क्षेत्रमा अहिले जस्तो व्यवस्थित सडक थिएन । साँघुरो बाटो थियो । उकालोमा गाडी चढ्न र फर्किन समस्या हुन्थ्यो । यही क्षेत्रमा सवारी दुर्घटना पनि हुने गरेको थियो । कतिपय दुर्घटनामा धनजनको क्षतिसमेत भएको धरान-८ का वडाध्यक्ष धनबहादुर राई सम्झन्छन् ।

अध्यक्ष राई २०२८ सालदेखि धरानमा बस्दै आएका हुन् । २०३२/३३ सालतिर उनले तीनकुनेको अवस्था नजिकबाट देखेका थिए । ‘उँभो डाँडा गाडी उँभै फर्केर पल्टिन्थ्यो, धेरै दुर्घटना हुन्थ्यो,’ उनले पत्रकार सम्मेलनको प्रमुख आतिथ्यता ग्रहणकै क्रममा पुरानो समय सम्झिए । 

‘दुर्घटना बढ्न थालेपछि एउटा भावना आयो यहाँ एउटा ढुंगा स्थापना गर्ने र त्यो ढुङ्गोलाई विश्वकर्मा बाबा मन्दिर भनेर पूजा गर्ने ।’ अध्यक्ष राईले विस्तारमा भने, ‘त्यसको लागि यातायात क्षेत्रमा काम गर्ने मजदुर, चालक, व्यवसायी र पुराना अगुवाहरू लालबहादुर ताम्राकार, अकलबहादुर म्याङ्बो, जगदीश न्यौपाने, गणेश माझीखावा, छविलाल लम्सालल गायतका व्यक्तित्वहरूको पहल रह्यो ।’

"ढुङ्गा स्थापना भयो । पूजा सुरु भयो । साथै चालक र मजदुरहरूलाई सावधानीपूर्वक गाडी चलाउन र नागरिकको सुरक्षामा ध्यान दिन आग्रह गरियो । दुर्घटनाका क्रमहरु घट्दै जान थाले । त्यो सानो प्रयास नै पछि मन्दिरको आधार बन्यो ।" अध्यक्ष राईले विस्तारमा भने । 

समय बित्दै गयो । ढुंगाको ठाउँमा मन्दिरको स्वरूप विकास हुँदै गयो । यातायात व्यवसायी, मजदुर, विभिन्न कम्पनी र स्थानीयको सहयोग पनि जोडिँदै गयो । जानकारहरुका अनुसार धरानको मन्दिर बाहेक पूर्वका कुनै पनि सडकमा बाबा विश्वकर्मा मन्दिर थिएन ।

आज त्यही ठाउँमा श्री श्री १०८ बाबा विश्वकर्मा मन्दिर छ । यहाँ विश्वकर्मा मूर्तिसँगै हनुमान, गणेश, राम दरबार, दुर्गा र शिवका मन्दिर पनि छन् । संगै चर्चित शनिमन्दिर पनि रहेको छ । 

‘हामीले एउटा ढुङ्गा  स्थापना गरेर पूजा सुरु गरेका थियौँ,’ अध्यक्ष राईले भनेका छन्, ‘आज आएर यो सवै भक्तजनहरुको लागि राम्रो भएको छ ।’

मन्दिरको दान-भेटीको हिसाब-किताव सार्वजनिक

मन्दिरको इतिहाससँगै अहिले यसको व्यवस्थापनमा पनि नयाँ अभ्यास सुरु भएको छ ।

२०८३ को विश्वकर्मा पूजाका अवसरमा भक्तजन तथा श्रद्धालुबाट प्राप्त दान-दक्षिणा र अन्य आम्दानी तथा पूजाका क्रममा भएको खर्चको विवरण मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको छ ।

विश्वकर्मा पूजा अवसरमा विभिन्न स्रोतबाट जम्मा २ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको समतिका अध्यक्ष सुभाष श्रेष्ठले बताएका छन् । 

उनका अनुसार आयाश्रोतमा मोनी बाबा धुनाबाट ५० हजार, विश्वकर्म मुर्ति, हनुमान मूर्ति, तथा गणेश मूर्तिमा भक्तजनबाट प्राप्त दान रु ६७ हजा, मन्दिर विकासका लागि प्राप्त दान रु १ लाख ३२ हजार प्राप्त भएको छ भने राम दरबार, दुर्गा मन्दिर र शिव मन्दिरको भेटी २० हजार र अन्य  १३ हजार ५ सय गरी जम्मा २ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको हो । 

पूजा अवसरमा ४० हजार ६ सय रुपैयाँ खर्च भएको छ । साधु-सन्त बिदाइमा ३० हजार ६ सय रुपैयाँ र प्रसाद तथा अन्य आधिकारिक खर्चमा १० हजार रुपैयाँ खर्च भएको छ ।

२ लाख ४२ हजार ४ सय बचत भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार विश्वकर्मा पूजाको दिन १५ हजार भन्दा बढि भक्तजनहरुले सवारी साधन लिएर पूजा गर्न आएका थिए । 

पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष राईले पनि मन्दिरको आम्दानी र खर्च सार्वजनिक गर्नु सकारात्मक काम भएको बताए । मन्दिर सञ्चालनमा पारदर्शिता आवश्यक रहेको भन्दै उनले व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाउन आग्रह गरे ।

‘यसलाई पारदर्शी बनाएर राम्रो काम गर्नुभएको छ,’ वडा अध्यक्ष राईले पत्रकार सम्मेलनमा भने । उनले मन्दिर व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय सरकारबाट आवश्यक सहयोग गर्ने पनि बताए । 

बचत रकम मध्येबाट बाढीपीडितलाई सहयोग गर्ने निर्णय 

मन्दिर व्यवस्थापन समितिले धार्मिक गतिविधिसँगै सामाजिक काममा पनि सहयोग गर्ने भएको छ ।

हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि समितिले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरिएको समितिका सचिव गणेश प्रसाद तिमसिनाले जानकारी दिए । 

मन्दिरमा भक्तजनले चढाएको रकम धार्मिक काममा मात्र होइन, आवश्यक परेको अवस्थामा सामाजिक सहयोगमा पनि प्रयोग गर्न सकिने उनले बताए । 

यसले मन्दिरको कथाले केवल धार्मिक आस्थामा सीमित नराखी दुर्घटना न्यूनीकरण, सामूहिक पहल र सामाजिक जिम्मेवारीसँग पनि जोडेको छ । 

 

प्रतिकृया दिनुहोस

संविधान दिवसमा धरानमा एमाले-नेपाली कम्युनिष्ट पार्टीको संयुक्त दीप प्रज्वलन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको

नवआगन्तुक विद्यार्थीको स्वागतमा धरान मेघा हिमालयनको भव्य सांगीतिक कार्यक्रम

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१२ मा रहेको मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी

इलाम र ओखलढुंगामा सवारी दुर्घटना, तीन जनाको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । इलाम र ओखलढुंगामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बिहीबार जिप