भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने निर्णयप्रति स्थानीय असन्तुष्ट, नगरले १५ दिनभित्र बस/ईभी चलाउने
गणतन्त्र खबर, धरान । धरानको नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएको अढाई महिनामै भानुचोकमा यात्रु चढाउने-ओराल्ने व्यवस्था (पिक एण्ड ड्रप) दिने निर्णयलाई लिएर विवाद चर्किएको छ । स्मार्ट बसपार्क रहेको धरान-८ का स्थानीयवासीले नगर र यातायात व्यवसायीबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै भानुचोकमा 'पिक एण्ड ड्रप' सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।
नयाँ बसपार्क सञ्चालनमा आएपछि भानुचोकबाट बसपार्कसम्म यात्रु जान सहज यातायातको व्यवस्था नहुँदा समस्या भएको भन्दै यातायात व्यवसायीहरूले भानुचोकमा ‘पिक एण्ड ड्रप’को सुविधा माग गर्दै आएका थिए । व्यवसायीको मागअनुसार नगरपालिकाले हाललाई भानुचोकमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्ने सहमति गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका हुन् ।
स्थानीयवासीको मुख्य चिन्ता भानुचोकमा ‘पिक एण्ड ड्रप’का नाममा यात्रुवाहक सवारी साधनलाई पुनः रोक्न दिँदा नयाँ स्मार्ट बसपार्कको उद्देश्य कमजोर बन्ने र भविष्यमा बसपार्क नै पुनः भानुचोकमा फर्किने अवस्था आउन सक्ने भन्ने छ ।
आज विहानै स्थानीयको विरोधपछि धरान-८ का वडाध्यक्ष धनबहादुर राईसहित वडावासी, यातायात व्यवसायी तथा उनीहरूका प्रतिनिधिसँग कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले साँझ नगरपालिकामै छलफल गरेका थिए ।
छलफलमा बेघाले भानुचोक र नयाँ बसपार्कबीच सहज यातायात कनेक्सन नहुनु अहिलेको समस्याको मुख्य कारणमध्ये एक भएको स्वीकार गरे ।
“एउटा हाम्रो कमजोरी धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्न नसकेको कुरा सबैले अनुभूत गरेको भनेको भानुचोक टु बसपार्कको कनेक्सन नगरेको कारणले गर्दा यो सबै समस्या सिर्जना भएको हो भन्ने निष्कर्ष सबैको हो र यो कुरा हामीले पनि अनुभूत गरेका छौँ,” बेघाले भने ।
समस्या समाधानका लागि नगरपालिकाले भानुचोकदेखि नयाँ बसपार्कसम्म यात्रुलाई सहज रूपमा आवतजावत गराउन दुईवटा बस वा ईभी सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ ।
“आजका मितिदेखि अब १० देखि १५ दिनभित्रमा हामी दुईवटा बस वा ईभी भानुचोक टु नयाँ बसपार्क कनेक्सनको निम्ति हामी प्रोसेस अगाडि बढाएर त्यसलाई सञ्चालन गर्छौँ,” बेघाले भने ।
उनका अनुसार बस वा ईभी सञ्चालन गर्न खरिद ऐनलगायतका कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्कालै प्रशासनिक प्रक्रिया सुरु गरिनेछ ।
“कागजी प्रक्रिया भोलिबाट हामी टिप्पणी सुरु गर्छौं र १५ दिनका दिनभित्रमा हामी चाहिँ अब अघि भनेको जस्तो हामी गर्छौँ,” उनले भने ।
बेघाले यातायात व्यवसायी र स्थानीयवासी दुवैको समस्या बुझेर अघि बढ्नुपर्ने बताए । व्यवसायीले नयाँ बसपार्कमा गाडी सञ्चालन गर्दा पर्याप्त यात्रु र पालो नपाएको गुनासो गरिरहेका छन् भने स्थानीयवासीले नयाँ बसपार्कलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
“यातायात व्यवसायी साथीहरूको ठूलो पीडा छ । हामीले बुझ्या छौँ । सबै कुरा बुझ्नुपर्यो । पब्लिकको पीडा, त्यहाँको मागको कुरा पनि हामीले बुझेका छौँ,” उनले भने ।
नगर र यातायात व्यवसायीबीच भएको ‘पिक एण्ड ड्रप’ सहमती
नगर र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार हाललाई इटहरीतर्फबाट धरान आउने यात्रुवाहक सवारीले नयाँ बसपार्कमा यात्रु ओरालेपछि भानुचोकसम्म जान चाहने यात्रुलाई भानुचोकसम्म ल्याउन दिने व्यवस्था गरिएको छ ।
भानुचोकमा एकैपटक दुईवटाभन्दा बढी सवारी रोक्न नपाउने र पार्किङ गर्न नपाउने व्यवस्था पनि सहमतिमा छ ।त्यस्तै, नयाँ बसपार्कबाट भानुचोक र भानुचोकबाट नयाँ बसपार्कसम्म यात्रुलाई भाडा नलिई सेवा दिने उल्लेख छ ।
तर स्थानीयवासीले यो व्यवस्था कार्यान्वयन गर्दा नयाँ बसपार्कको उद्देश्य नै कमजोर हुन सक्ने भन्दै आपत्ति जनाएका छन् । उनीहरूले स्मार्ट बसपार्क सञ्चालनमा आएको सुरुवाती चरणमा अपनाइएको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताएका छन् ।
यातायात व्यवसायीहरूले भने आफूहरूले नयाँ स्मार्ट बसपार्कको विकल्प खोजेको नभई यात्रुको सहजताका लागि भानुचोकमा केवल पिक एण्ड ड्रपको सुविधा माग गरेको बताएका छन् ।
भोलिदेखि भानुचोकमा 'पिक एण्ड ड्रप' रोक्ने असन्तुष्ट पक्षको चेतावनी
छलफलपछि पनि स्थानीयवासीको असन्तुष्टि कायमै छ । उनीहरूले नगर र यातायात व्यवसायीबीच भएको सहमति अक्षरशः पालना गर्ने स्पष्ट प्रतिबद्धता यातायात व्यवसायीबाट नआएसम्म भानुचोकमा पिक एण्ड ड्रप सञ्चालन गर्न नदिने बताएका छन् ।
त्यसैगरी, कार्यवाहक नगर प्रमुख बेघाले पनि उक्त सहमति अक्षरशः कार्यान्वयन गराउने जिम्मेवारी स्पष्ट रूपमा नलिएसम्म आन्दोलन रोक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।
धरान-८ का आन्दोलनरत स्थानीयवासीले भोलि बिहानदेखि भानुचोकमा पिक एण्ड ड्रप गर्न नदिने आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले स्मार्ट बसपार्क सञ्चालन सुरु हुँदा जुन प्रक्रिया अपनाइएको थियो, त्यही व्यवस्थाअनुसार यातायात सञ्चालन हुनुपर्ने माग अघि सारेका छन् ।
स्थानीयको भनाइमा भानुचोकमा ‘पिक एण्ड ड्रप’को व्यवस्था अस्थायी भनिए पनि त्यसले विस्तारै अहिलेको बसपार्क हिजोको भानुचौकमै फर्काउने बाटो खोल्न सक्ने भएकाले अहिलेकै व्यवस्था आवश्यक छ ।
अब भानुचोकमा 'पिक एण्ड ड्रप'को निर्णय कार्यान्वयन हुन्छ वा स्थानीयको विरोधपछि रोकिइन्छ भन्ने विषयसँगै, नगरपालिकाले घोषणा गरेको १०-१५ दिनभित्रको बस/ईभी सेवा कति छिटो सञ्चालनमा आउँछ भन्ने विषयले विवादको आगामी दिशा निर्धारण गर्ने देखिएको छ ।
यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा
भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको
यु एन नवोदय कलेजकी छात्रा युमी राईलाई इन्डो-नेपाल तेक्वान्दोमा दोहोरो स्वर्ण, कलेजद्वारा सम्मान
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो-नेपाल तेक्वान्दो च्याम्पियनसिप-२०८३’ मा धरान-१६ स्थित यु एन नवोदय कलेजकी

प्रतिकृया दिनुहोस