• १८ असोज २०८३ आइतबार/ Sunday 10-04-2026

खेलकुदमार्फत धरान-२० चिनाउने प्रयास, प्रथम महिला फुटबल आयोजना हुँदै

गणतन्त्र खवर, धरान । धरान २० नं वडा विष्णुपादुकालाई खेलकुदमार्फत चिनाउने उद्देश्यले पहिलोपटक महिला खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

विष्णु सांस्कृतिक युवा क्लब धरान-२० को आयोजनामा आगामी असोज २४ गतेदेखि ३१ गतेसम्म ‘प्रथम धरान २० महिला नकआउट खुल्ला फुटबल प्रतियोगिता-२०८३’ सञ्चालन हुने भएको हो । प्रतियोगिता धरान-२० स्थित सिरिसे खेलमैदानमा हुनेछ । 

‘खेलमा समानता, महिलामा सक्षमता’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा धरानसहित सुनसरी र मोरङका विभिन्न क्षेत्रका ८ महिला फुटबल टोली सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक विष्णुपादुका महिला फुटबल क्लब, भरौल न्यु स्टार एकेडेमी, तालतलैया फुटबल क्लब इटहरी, भरौल बालमन्दिर फुटबल एकेडेमी, राँड्चा फुटबल क्लब केराबारी, धरान लेडिज फुटबल टिम, लेटाङ फुटबल क्लब र रेवाहाङ फेयर फुटबल क्लब धरान सहभागी हुने प्रतियोगिताको संयोजक म्हारमेन्दो तामाङले बताईन् ।

खेलकुदसँगै धरान-२० को पहिचान

धरान-२० भौगोलिक अवस्थाका कारण धरानका अन्य वडाको तुलनामा केही दुर्गम क्षेत्रमा पर्छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो वडा क्षेत्रफलका हिसाबले पनि ठूलो छ ।

तर विकास निर्माण तथा पूर्वाधारका विषयमा वडा पर्याप्त रूपमा प्राथमिकतामा नपरेको आयोजकको गुनासो छ । यही अवस्थालाई ध्यानमा राखेर खेलकुदका माध्यमबाट धरान-२० को पहिचान बढाउने प्रयास गरिएको आयोजक विष्णु सांस्कृतिक युवा क्लबका अध्यक्ष अध्यक्ष तामाङले बताए ।

उनका अनुसार क्लबले यसअघि वडा तथा भेट्रान फुटबल प्रतियोगिता लगायतका अन्य प्रभाकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । खेलकुदका गतिविधिलाई निरन्तरता दिएर धरान-२० लाई खेलकुद तथा पर्यटनसँग जोड्ने उद्देश्य रहेको उनले बताए ।

‘विशेष गरेर हाम्रो उद्देश्य के छ भन्दा खेरी खेल खेलाउने र मनोरोन्जन मात्र लिने होईन, एउटा उदेश्य के हो त भने २० नं. वडा भौगोलिक हिसावमा यत्रो ठूलो वडा हुदाँ हुँदैपनि विकास निर्माणमा स्थानिय सरकारको चासो रहँदैन त्यसको लागि प्रतियोगिताहरु आयोजना गरिरहेको छौं ।’ उनले भने ।

घरेलु टोलीको नेतृत्व ए डिभिजन खेलाडी प्रतिक्षाले गर्ने

प्रतियोगितामा घरेलु टोली विष्णुपादुका महिला फुटबल क्लबको नेतृत्व ए डिभिजन लिगकी खेलाडी प्रतीक्षा राईले गर्ने भएकी छन् । धरान-२० कै स्थायी बासिन्दा राईको सहभागिताले घरेलु टोलीलाई थप ऊर्जा मिल्ने आयोजकको अपेक्षा छ।

 सदस्य तथा सञ्चार कर्मी सुजन तितुङ तामाङका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । खेल मैदान ९-ए-साइड रहनेछ । प्रत्येक दिन एउटा मात्र खेल सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने गरी निःशुल्क दर्ताको व्यवस्था गरिएको छ । प्रतियोगिताका क्रममा आवश्यक स्वास्थ्यसम्बन्धी सेवा २० नं. वडा कार्यालयले उपलब्ध गराउने जनाइएको छ ।

विजेतालाई ५० हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र 

प्रतियोगिताको संयोजक तामाङका अनुसार प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले ३० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, गोलकर्ता तथा टिम कोचलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ हजार ५ सय रुपैयाँ पाउनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितालाई धरान उपमहानगरपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने सह संयोजक सन्दीप कुलुङले जानकारी दिए । 

यस्तै, उनका अनुसार १० नं. वडा कार्यालयले उपविजेताको पुरस्कारका लागि ३० हजार रुपैयाँ र १५ नं. वडा कार्यालयले प्रथम कपका लागि ३० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । २ नं. वडा कार्यालयले उपविजेता कपका लागि २० हजार रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।

२० नं. वडा धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण भएकाले प्रतियोगिता मार्फत करिब ५ हजारदेखि १० हजारसम्म दर्शक उपस्थित हुने आयोजको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस

दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना

धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14, विजेतालाई ५० हजार

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14 फुटबल प्रतियोगिता (१४ वर्षमुनिका खेलाडी सहभागी हुने फुटबल प्रतियोगिता) आयोजना हुने

धरानको फुटबल इतिहासमा नयाँ अध्याय : पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै

# खेलकुद

गणतन्त्र खबर, धरान । धरानको फुटबल इतिहासमा अर्को नयाँ अध्याय थपिने भएको छ । धरान-१९ मा रहेको डि नाइन्टिन क्लब (D19 CLUB) को आयोजनामा पहिलोपटक धरान महिला

↑