प्रसिद्ध शक्तिपीठ र मन्दिर जाने मार्गहरूमा धरान १४ नं. वडाको सरसफाइ
गणतन्त्र खवर, धरान । नेपालीहरूको महान् पर्व बडादशैं तथा नवरात्र सुरु भएसँगै धरान-१४ नं. वडा कार्यालयले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जाने बाटो, पदमार्ग र सिँढीहरूको बृहत् सरसफाइ सुरु गरेको छ ।
धरान-१४ धार्मिक दृष्टिले महत्वपूर्ण वडा हो । यस वडामा रहेका प्रसिद्ध बुढासुब्बा, प्रसिद्ध शक्तिपीठ दन्तकाली, प्रसिद्ध पिण्डेश्वर महादेव, पञ्चकन्या र सिंहदेवी मन्दिरमा दशैं, नवरात्र तथा अन्य धार्मिक अवसरमा ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन् । देशका विभिन्न ठाउँसँगै विदेशबाट समेत तीर्थयात्री तथा धार्मिक पर्यटक आउने भएकाले मन्दिरसम्म पुग्ने बाटो सफा र सहज बनाउन वडा कार्यालयले विशेष ध्यान दिएको हो ।
यसै क्रममा वडा कार्यालय स्वयंको पहलमा नगरपालिकाका करिब २०/२५ जना सरसफाइ कर्मचारी परिचालन गरी धार्मिक स्थल जाने मुख्य पदमार्ग, सिँढी र आसपासका क्षेत्रमा सरसफाइ भइरहेको छ ।
चाडपर्वको समयमा धार्मिक स्थलमा आउने भक्तजनलाई सहज वातावरण दिन गरिएको नियमित सरसफाइ कार्य गरिएको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
उनले बडादशैं र नवरात्र सुरु भएकाले देश-विदेशबाट भक्तजन आउने क्रम बढ्ने र मुख्य मन्दिर जाने बाटोमा झार, पात तथा अन्य फोहोर देखिने भएकाले नगरपालिकासँग समन्वय गरेर सरसफाइ कर्मचारी परिचालन गरिएको बताए । “मन्दिर जाने बाटो सफा र राम्रो देखियोस् भन्ने मुख्य उद्देश्य हो,” अध्यक्ष भट्टराईले भने ।
सरसफाइका क्रममा दन्तकाली मन्दिर जाने सिँढी मार्ग, सिंहदेवीसम्म जाने बाटो, पञ्चकन्या जाने मार्ग तथा पिण्डेश्वरतर्फका बाटालाई प्राथमिकतामा राखिएको छ । बुढासुब्बा लगायतका धार्मिक स्थल जाने बाटाहरूमा पनि सरसफाइ भइरहेको छ ।
अध्यक्ष भट्टराईका अनुसार एकै दिनमा सबै क्षेत्रको सरसफाइ पूरा गर्न सम्भव नभएकाले आवश्यकताअनुसार क्रमशः काम अघि बढाइनेछ । आज सरसफाइ गरिएको क्षेत्र फेरि भोलि वा केही दिनपछि पनि हेर्नुपर्ने अवस्था रहेकाले अभियानलाई निरन्तरता दिइने उनले बताए ।
धरान-१४ को भौगोलिक अवस्था र यहाँको घना हरियालीका कारण सरसफाइमा थप चुनौती रहेको वडा कार्यलयको भनाइ छ । धेरै ठाउँमा रुखहरू भएकाले सफा गरेको केही दिनमै पात झर्ने गर्छन् । त्यसैले एकपटक सरसफाइ गरेर मात्र बाटो सधैं सफा राख्न कठिन हुने गरेको छ ।
दैनिक सरसफाइका लागि वडा तहमा कर्मचारी आवश्यक
अध्यक्ष भट्टराईले तत्कालको सरसफाइ अभियानसँगै धरानको सरसफाइ व्यवस्थापनलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
उनका अनुसार अहिले नगरपालिकामा रहेका करिब ७५/७६ जना सरसफाइ कर्मचारीलाई वडा वा वडा समूहअनुसार परिचालन गर्ने व्यवस्था गर्न सके दैनिक सरसफाइ अझ प्रभावकारी बनाउन सकिन्छ ।
उनले नजिक-नजिकका वडालाई एउटा समूह बनाएर आवश्यक कर्मचारी र साधन उपलब्ध गराउन सकिने प्रस्ताव अघि सारेका छन् । उदाहरणका रूपमा उनले वडा नं. १, १३ र १४ लाई एउटै समूहमा राखेर सरसफाइ कर्मचारी र एउटा ट्र्याक्टर उपलब्ध गराउन सकिने धारणा राखे ।
उनको प्रस्तावअनुसार एक दिन एउटा वडामा, अर्को दिन अर्को वडामा र त्यसपछि अर्को वडामा सरसफाइ गर्ने गरी नियमित चक्र बनाउन सकिन्छ । यसरी कर्मचारीलाई निश्चित क्षेत्रमा जिम्मेवारी दिएर परिचालन गर्दा सरसफाइको काम नियमित र प्रभावकारी हुने उनको विश्वास छ ।
अध्यक्ष भट्टराईले एउटा वडामा करिब पाँच जना सरसफाइ कर्मचारी र नजिकका वडालाई मिलाएर आवश्यक ट्र्याक्टर उपलब्ध गराउन सके दैनिक सरसफाइ गर्न सहज हुने बताए । ‘सरसफाइलाई सिस्टममा लानु पर्ने जस्तो देखियो’ उनले भने ।
धार्मिक पर्यटनसँग जोडिएको सरसफाइ
धरान–१४ मा भइरहेको सरसफाइ केवल फोहोर हटाउने काम मात्र नभई धार्मिक पर्यटनसँग पनि जोडिएको विषय हो । बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर महादेव, पञ्चकन्या र सिंहदेवीजस्ता धार्मिक स्थलमा वर्षभरि नै भक्तजन पुग्ने गर्छन् । विशेषगरी दशैं र नवरात्रको समयमा यहाँ भक्तजनको चाप बढ्ने गर्छ ।
यस्ता धार्मिक स्थलसम्म पुग्ने बाटो, पदमार्ग र सिँढी सफा भएमा बाहिरबाट आउने भक्तजनमा राम्रो प्रभाव पर्न सक्छ । यसले धरानको धार्मिक पर्यटनलाई पनि सहयोग पुर्याउन सक्छ ।
तर एकपटकको सरसफाइ कार्यले मात्र दीर्घकालीन समाधान नदिने भएकाले नियमित सरसफाइको स्थायी व्यवस्था आवश्यक देखिन्छ । यही कारण तत्कालका लागि चाडपर्व लक्षित सरसफाइ कार्य र दीर्घकालीन रूपमा वडा तहमा कर्मचारी तथा साधन परिचालन गर्ने प्रणाली आवश्यक रहेको वडा अध्यक्ष भट्टराईको धारणा छ ।
धरान-१४ को अहिलेको सरसफाइ कार्यले धार्मिक स्थल जाने बाटो बाटो, पदमार्ग र सिँढी सफा बनाउने तत्कालीन आवश्यकता पूरा गर्ने प्रयास गरेको छ । त्यससँगै वडा तहमा सरसफाइको जिम्मेवारी बाँडफाँट गर्ने अध्यक्षको प्रस्ताव कार्यान्वयनमा आएमा धरानको समग्र सरसफाइ व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सकिने देखिन्छ ।
बडादशैं तथा नवरात्रको अवसरमा भक्तजनको आवागमन बढ्दै गर्दा धार्मिक स्थल जाने बाटो, पदमार्ग र सिँढी जस्ता सफा र व्यवस्थित बनाउने कामले स्थानीय तह, स्थानीय बासिन्दा र भक्तजन सबैको साझा जिम्मेवारीलाई पनि सम्झाएको छ ।
आमश उपचार केन्द्रलाई सहयोग गर्ने राज्यमन्त्री परियारको प्रतिबद्धता
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले सुनसरीको धरान-१४ मा रहेको आमश उपचार केन्द्रलाई आवश्यक
यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा
भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको

प्रतिकृया दिनुहोस