• २८ कार्तिक २०८३ शुक्रबार/ Friday 11-13-2026

धरानको पहिलो महिला अन्तर्राष्ट्रिय गोल्डकपको तयारी अन्तिम चरणमा, ट्रफी सार्वजनिक

गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित आयोजना हुन लागेको पहिलो धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि तयार पारिएको धरानको पहिचान झल्किने आकर्षक ट्रफी सार्वजनिक गर्दै आयोजकले उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ईभी स्कुटरको सार्वजनिक र चावी समेत प्राप्त गरेको छ । 

धरान-१९ स्थित डि नाइन्टिन क्लबको आयोजनामा यही कार्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म धरान-१६ स्थित धरान रंगशालामा प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताको उद्घाटन कार्तिक २८ गते साँझ ६ः३० बजे हुने आयोजकले सोही रंगशालामा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । 

धरानमा लामो समयदेखि पुरुष फुटबल प्रतियोगिता हुँदै आए पनि महिला फुटबलतर्फ पहिलोपटक अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना हुन लागेको हो । यसलाई आयोजकले धरानको महिला फुटबल विकासका लागि महत्वपूर्ण सुरुवातका रूपमा लिएको छ । प्रतियोगितामा नेपालका चर्चित क्लबहरूसँगै भारतको एक टोली गरी आठ टोलीको सहभागिता रहनेछ ।

धरानको पहिचान बोकेको ट्रफी सार्वजनिक

प्रतियोगिताको सबैभन्दा आकर्षक पक्षमध्ये एक धरानको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचान समेटेर तयार पारिएको ट्रफी रहेको छ । नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा अधिवक्ता पदम लिम्बू र उहाँको परिवारले आफ्ना स्वर्गीय बुबा ताराबहादुर लिम्बू तथा आमा धनमाया लिम्बूको स्मृतिमा ट्रफी सौजन्य गरेका हुन् ।

ट्रफीमा धरानका प्रसिद्ध दन्तकाली, बुढासुब्बा, पिण्डेश्वरी र पञ्चकन्या मन्दिरसँगै धरानको परिचय बनेको घण्टाघरलाई समेत समेटिएको छ । यसले गोल्डकपको पहिचानसँगै धरानको इतिहास, संस्कृति र धार्मिक महत्वलाई पनि उजागर गर्ने आयोजकको विश्वास छ ।

ट्रफी सौजन्य गर्ने पदम लिम्बूले धरानको पहिचान बोकेको ट्रफी निर्माण गर्ने सोचअनुसार युवा आयोजक र कलाकारहरूले राम्रो काम गरेको बताए । ‘धरानलाई परिचय गराउन सफल हुने, त्यो जो धरानलाई चिनाउने जुन एउटा सांस्कृतिक महत्वको धार्मिक महत्वको विषयहरुलाई सिंगो धरानलाई घण्टाघरले शुद्ध परिचालित गरेर एड्रेस गरेर यो ट्रफी बनेको छ ।’ उनले भने ।

ट्रफीले प्रतियोगिताको विजेता टोलीलाई मात्र नभई सिंगो धरानलाई प्रतिनिधित्व गर्ने उनले बताए । 

उत्कृष्ट खेलाडीको लागि सौजन्य ईभी स्कुटर सार्वजानिक

प्रतियोगितामा सहभागी महिला खेलाडीलाई थप हौसला प्रदान गर्न उत्कृष्ट खेलाडीका लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी अर्थात् बेस्ट प्लेयरलाई ईभी स्कुटर प्रदान गरिने भएको छ ।

धरान-१९ निवासी पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्झना खालिङले आफ्ना स्वर्गीय बुबा दिलबहादुर खालिङको स्मृतिमा उक्त स्कुटर सौजन्य गरेकी हुन् । उनको परिवारले प्रतियोगितालाई विश्वास र हौसला प्रदान गर्दै उत्कृष्ट खेलाडीका लागि पुरस्कार उपलब्ध गराएको प्रतियोगिता समिति सह सचिव दिपक लिम्बुले बताएका छन् ।

यसका साथै सम्झना खालिङको परिवारले आगामी वर्षहरूमा पनि प्रतियोगिताको अवसरमा उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गर्ने प्रतिबद्धता जनाएको प्रतियोगिता समिति सहसचिव लिम्बूले जानकारी दिए । ‘यहाँहरुको अगाडि म भन्न चाहन्छु, वर्षेनि प्रतियोगिताको अवसरमा हामीलाई ईभी स्कुटर प्रदान चाहिँ उहाँको परिवारको तर्फबाट गर्ने भन्ने एक किसिमको प्रतिबद्धता पनि जनाउनुभएको छ,’ उनले भने ।  

रातको उज्यालोमा महिला फुटबल खेलाउने तयारी

धरान महिला अन्तर्राष्ट्रिय गोल्डकपको अर्को विशेषता रात्रिकालीन फुटबल प्रतियोगिता हो । महिला खेलाडीलाई रातको उज्यालोमा खेलाउने तयारीसहित धरान रंगशालामा फ्लडलाइटको व्यवस्था गरिएको छ ।

रात्रिकालीन खेल सञ्चालनका लागि मैदानमा ५५ फिट उचाइमा लाइट जडान गरिएको प्रतियोगिता समिति सहसचिव दीपक लिम्बूले बताए । हाल जडान गरिएका लाइटलाई थप व्यवस्थित बनाउँदै आवश्यकताअनुसार अन्य स्थानमा समेत थप लाइट जडान गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

धरान उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष विवेक राईले पनि प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । महिला खेलाडीलाई प्रोत्साहन गर्दै धरानको खेलकुद पहिचानलाई जीवन्त राख्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

धरानको पहिचान बोकेको ट्रफी, उत्कृष्ट खेलाडीका लागि ईभी स्कुटर र रात्रिकालीन फुटबलको तयारीले प्रतियोगितालाई थप विशेष बनाएको छ । 

प्रतिकृया दिनुहोस

धरानमा ‘तेश्रो महिला नकआउट रनिङकप फुटबल’ मंसिर २६ देखि हुने

# खेलकुद

गणतन्त्र खवर, धरान । खेलकुदमा प्रतिभा भएर पनि अवसरबाट वञ्चित महिला खेलाडीलाई फुटबलमार्फत अघि बढाउने उद्देश्यसहित सञ्चालन गरिँदै आएको वडा स्तरीय

बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सको पोल्टामा

# खेलकुद

गणतन्त्र खवर, धरान । बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । लिग चरणमा एउटै खेल नहारी अपराजित रहेको र्‍याप्टर्सले रोमाञ्चक फाइनलमा

२१औँ ललित-अम्बर डिपो कप पुस १ देखि, पुरस्कार राशि बृद्धि

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा आयोजना हुँदै आएको ललित-अम्बर डिपो कप फुटबल प्रतियोगिताको २१औँ संस्करण आगामी पुस १ गतेदेखि सुरु हुने भएको छ ।

↑