• ६ मङ्सिर २०८३ शनिबार/ Saturday 11-21-2026

ऐतिहासिक पहिलो धरान महिला गोल्डकपको उपाधी कसको पोल्टामा ?

शनिबार साँझ रंगशालामा हुँदैछ रात्रिकालीन फाइनलको रौनक

रोहित कुमार बस्नेत (डेविट)

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को ऐतिहासिक पहिलो उपाधिका लागि शनिबार दुई विभागीय महारथी सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । धरानको रात्रिकालीन फ्लडलाइटमा हुने यस बहुप्रतीक्षित फाइनल खेलले प्रतियोगिताको पहिलो च्याम्पियनको टुङ्गो लगाउनेछ ।

भोली शनिबार साँझ ७ बजे धरानस्थित खेल मैदानमा हुने फाइनल भिडन्तअघि आज आयोजित 'प्रि-म्याच कन्फरेन्स'मा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने लक्ष्यसहित आफ्नो तयारी, रणनीति र आत्मविश्वास प्रस्तुत गरेका छन् । पोल ‘ए’ को विजेता एपीएफ सुन्तला (ओरेन्ज) रङको जर्सीमा मैदान उत्रिनेछ भने पोल ‘बी’ को विजेता नेपाल पुलिस क्लब नीलो (ब्लु) जर्सीमा प्रतिस्पर्धा गर्ने म्याच कमिश्नर ईन्द्र थापा मगरले बताएका छन् ।

राष्ट्रिय खेलाडीसहित एपीएफ बलियो, तर कप्तान अनिताको अभाव

एपीएफका मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेले फाइनलका लागि आफ्नो टोली मानसिक, शारीरिक र रणनीतिक रूपमा पूर्ण तयारी अवस्थामा रहेको बताए । प्रतियोगिताको सुरुदेखि नै नियमित र सन्तुलित तयारी गर्दै आएको उल्लेख गर्दै उनले फाइनलसम्मको यात्राले खेलाडीहरूको आत्मविश्वास उच्च बनाएको बताए ।

“अब आजको केसमा अब हामी चाहिँ आफ्नो हिसाबले चाहिँ स्ट्राटेजिक, अब मेन्टल्ली, फिजिकल्ली तीनवटै हिसाबले चाहिँ हामी चाहिँ अँ प्रिपेयर छौँ,” उनले भने । 

१३ जना राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ टोलीका लागि नियमित कप्तान अनिता बस्नेतको चोट भने फाइनलअघि चुनौती बनेको छ । प्रशिक्षक पाण्डेका अनुसार चोटका कारण अनिता निर्णायक खेलमा मैदान उत्रिने छैनन् । यद्यपि, उनको स्थानमा खेल्न सक्ने क्षमतावान खेलाडी टोलीमा रहेको उनले स्पष्ट पारे ।

नियमित कप्तानको अनुपस्थितिमा टोलीको नेतृत्व गर्ने कार्यवाहक कप्तान रेणुका नगरकोटीले अनिताको अभाव टोलीलाई खट्किने भए पनि उनको स्थानमा खेल्ने खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, “अन्तिम तयारी पूरा भइसकेको छ। सहभागी सबै टोली जित्नकै लागि आएका हुन् । हामी पनि यहाँ जित्नकै लागि आएका हौँ र भोलि जितकै लागि खेल्नेछौँ ।”

धरानमा पुलिसको नतिजा उल्टाउने लक्ष्य

नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक भोला सिलवालले एपीएफ र पुलिसबीचको प्रतिस्पर्धा सधैँ रोमाञ्चक हुने भएकाले फाइनल खेल दर्शकका लागि विशेष आकर्षण बन्ने बताए ।

६ जना राष्ट्रिय खेलाडी रहेको पुलिस टोलीले एपीएफको बलियो डिफेन्स, मिडफिल्ड र अग्रपङ्क्तिलाई चुनौती दिन विपक्षीका साना कमजोरी पहिचान गरी त्यसको सदुपयोग गर्ने रणनीति बनाएको प्रशिक्षक सिलवालले जानकारी दिए ।

धरानको मैदान पुलिसका लागि ‘लक्की’ मानिने प्रसङ्गमा उनले मुस्कुराउँदै भने, “त्यत्तिकै लक्की त हुँदैन, राम्रो खेल प्रस्तुत गरेपछि मात्रै लकले पनि साथ दिन्छ। तर हो, धरानमा चाहिँ अलिकति लक हाम्रो पक्षमा छ जस्तो लाग्छ ।”

पुलिसकी कप्तान अमृता जैसीले एपीएफ बलियो टोली भए पनि आफ्नो टिम सन्तुलित र उपाधिका लागि तयार रहेको बताइन् । सिमरामा भएको अघिल्लो भेटमा २-१ को हार तथा झापा गोल्डकपको फाइनलको प्रसङ्ग उठाउँदै नतिजा उल्टाउने चुनौतीबारे सोधिएको प्रश्नमा उनले ९० मिनेटको खेल नसकिँदासम्म नतिजा अनुमान गर्न नसकिने बताइन् ।

उनले भनिन्, “जबसम्म ९० मिनेटको खेल सकिँदैन, तबसम्म नतिजा कसैले भन्न सक्दैन । भोलि खेल सुरु भएपछि थाहा भइहाल्छ, तर नतिजा उल्टाउन हाम्रो अन्तिम समयसम्म पूरा प्रयास रहनेछ ।”

रात्रिकालीन महिला फुटबलले दिएको नयाँ सन्देश, स्थायी फ्लडलाइटको अपेक्षा

प्रतियोगिताको प्रि-म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षकले आयोजक डी-१९ क्लबको व्यवस्थापकीय पक्षको प्रशंसा गर्दै धरानमा पहिलोपटक आयोजित रात्रिकालीन महिला फुटबलले नेपाली खेलकुद क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए ।

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले महिला फुटबललाई पूर्वी नेपालमा उजागर गर्न आयोजकले गरेको प्रयास प्रशंसनीय रहेको बताए । विशेषगरी रात्रिकालीन फुटबलले खेलमा छुट्टै आकर्षण र रौनक थपेको उनको भनाइ थियो ।

“रात्रिकालीन फुटबलले खेलमा छुट्टै आकर्षण र रौनक थपेको छ । यसले महिला फुटबल पनि राति आयोजना गर्दा दर्शकको राम्रो साथ पाइने रहेछ भन्ने एउटा राम्रो सन्देश दिएको छ,” प्रशिक्षक सिलवालले भने ।

उनले आफूहरू धरानमा करिब ६-७ दिन रहँदा प्रतियोगिताको समग्र व्यवस्थापन राम्रो पाएको उल्लेख गर्दै आयोजकले खेलाडी र टोलीले अपेक्षा गरेअनुसारको वातावरण तयार गरेको बताए ।

एपीएफका प्रशिक्षक जिवेश कुमार पाण्डेले पनि सीमित साधनस्रोतका बाबजुद स्थानीय युवाहरूले यति ठूलो प्रतियोगिता आयोजना गर्नु आफैँमा उदाहरणीय काम भएको बताए ।

उनका अनुसार प्रतियोगिता सफल बनाउन कुनै एक व्यक्तिको प्रयास मात्र पर्याप्त हुँदैन । स्थानीय सरकार, प्रदेश सरकार, खेलकुद विकास समिति, राजनीतिक दल, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सामूहिक सहभागिता र सहयोग आवश्यक हुन्छ ।

“यो एउटा टिम इफोर्ट हो । एकजनाले गरेर मात्र हुने चिज होइन । टिमले गर्‍यो भने बल्ल एउटा रिजल्ट आउँछ । यो त्यसैको परिणाम हो,” उनले भने ।

अहिले बाँसका पोलमा फ्लडलाइट जडान गरेर भए पनि रात्रिकालीन फुटबल आयोजना गर्नु धरानका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रशिक्षक पाण्डेले आगामी दिनमा स्थायी फ्लडलाइटको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।

उनले भने, “एउटा सानो वडाका भाइहरूले गर्नुभएको प्रतियोगिताले त यति गर्न सक्छ भने प्रदेश सरकार छ, स्थानीय सरकार छ, सबैजना मिलेर प्रयास गरे त्यो असम्भव छैन । स्थायी फ्लडलाइटको व्यवस्था भइदियो भने समग्र पूर्वाञ्चलकै एउटा राम्रो नमुनाका रूपमा धरान स्थापित हुन सक्छ ।”

उनले प्रतियोगिताको मैदान व्यवस्थापनप्रति विशेष सन्तुष्टि व्यक्त गर्दै प्रतियोगिताका क्रममा देखिने सानातिना कमजोरीलाई सिकाइको प्रक्रियाका रूपमा लिनुपर्ने उनको धारणा थियो ।

पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप केवल एउटा फुटबल प्रतियोगितामा सीमित नभई धरानको खेलकुद विकास, महिला फुटबलको प्रवर्द्धन र रात्रिकालीन खेल संस्कृतिको विकासका लागि महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ ।

अब आवश्यकता भनेको यही सुरुवातलाई निरन्तरता दिनु र धरानमा स्थायी फ्लडलाइटसहितको आधुनिक खेल पूर्वाधार निर्माणतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु  हो । 

प्रतिकृया दिनुहोस

वीर गोर्खालीको सम्मानमा पाँचौँ गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हुँदै

# खेलकुद

गणतन्त्र खवर, धरान । गोर्खाली वीर पुर्खाको सम्मानमा गरिँदै आएको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिताको पाँचौ संस्करण आउदो माघ २ गते शनिबार हुने भएको छ

नेपाल पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

# खेलकुद

गणतन्त्र खवर, धरान । आयोजक टोलीमाथि ६-० गोलको प्रभावशाली जित निकाल्दै नेपाल पुलिस क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल

त्रिभुवन आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

# खेलकुद

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत हिजो बुधबार भएको पाँचौ खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले त्रिभुवन

↑